परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) खेलकूदको स्तरमा बृद्धि गर्न समय समयमा जिल्ला, क्षेत्र, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलकूदका प्रतियोगिताहरुको आयोजना गर्ने,
(ख) खेलकूद सम्बन्धी प्रतियोगिता वा बैठकमा भाग लिन खेलाडी, परिषद्का सदस्य तथा कर्मचारीलाई विदेश पठाउने,
(ग) नेपाल सरकारलाई खेलकूद सम्बन्धी कुरामा सल्लाह दिने,
(घ) खेलकूद सम्बन्धी संस्थालाई आर्थिक वा अन्य सहयोग प्रदान गर्ने वा त्यस्तो सहयोगको लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने,
(ङ) शिक्षण संस्थाहरुमा खेलकूद सम्बन्धी प्रशिक्षण, प्रतियोगिता संचालन गर्ने तथा खेलकूदको उपयोगिताका सम्बन्धमा प्रचार प्रसार गर्ने गराउने,
(च) खेलकूद सम्बन्धी स्तर बढाउने पुस्तक, पर्चा, स्लाइड, चलचित्र वा भिडियो चलचित्र आदिको लेखक वा निर्मातालाई आर्थिक वा अन्य सहयोग प्रदान गरी प्रोत्साहित गर्ने,
(छ) खेलकूदको उत्तरोत्तर विकासको लागि आवश्यकतानुसार नेपाल भर रंगशाला तथा खेलकूद मैदानको निर्माण गरी तिनीहरुको संरक्षण तथा रेखदेख गर्ने,
(ज) खेलकुदको विकासको लागि क्षेत्रीय, जिल्ला, नगर तथा गाउँस्तरमा खेलकुद विकास समिति गठन गर्ने ।
(झ) खेलकूद सम्बन्धी संस्थालाई समय समयमा आवश्यक निर्देशन दिने,
(ञ) खेलाडीहरुको स्तरबृद्धि गर्न आवश्यकतानुसार स्वदेशी तथा विदेशी प्रशिक्षकहरुबाट तालीम दिलाउने व्यवस्था गर्ने र उपयुक्त खेलाडीको छनौट गरी आवश्यकतानुसार विदेशमा समेत तालीम हासिल गर्नको लागि पठाउने,
तर विदेशी प्रशिक्षक झिकाउँदा परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिएको हुनु पर्नेछ ।
(ट) खेलाडीहरुलाई आर्थिक सहायता तथा छात्रवृत्ति प्रदान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने,
(ठ) खेलाडीको स्वास्थ्यको संरक्षण गर्नको लागि आवश्यक व्यवस्था गर्ने,
(ड) विभिन्न कारणबाट शारीरिक तथा मानसिक रुपमा विकलाङ्ग हुन पुगेका अपाङ्गहरुको खेलकूदको विकास गर्न तालिम तथा प्रतियोगिता संचालन गर्ने व्यवस्था गर्ने र आवश्यकतानुसार त्यस्तो खेलकूदको महत्वको सम्बन्धमा प्रचार प्रसार गर्ने गराउने,
(ढ) खेलकूदको विकासको लागि अन्य आवश्यक व्यवस्थाहरु गर्ने गराउने ।